वीरगंज । बारा र पर्सा जिल्लाबाट प्रहरीले अवैध लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । दुवै घटनामा प्रहरीले ठूलो परिमाणको लागूऔषध र नगद रकम बरामद गरेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट करिब १ किलो ९३३ ग्राम चरेशजस्तो देखिने पदार्थ, नेपाली रुपैयाँ ६० हजार ५ सय र भारतीय रुपैयाँ ३९ हजार २ सय १७ सहित सोही उपमहानगरपालिका ६ सिदरीया टोल बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख ८१०१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार बुढाथोकीलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको हो ।
यस्तै पर्साको वीरगंज महानगरपालिका २१ परवानीपुर चोकबाट करिब ३ क्विन्टल १९ किलोग्राम चरेशजस्तो देखिने पदार्थ र नगद १ लाख ९२ हजार रुपैयाँसहित मकवानपुर थाहा नगरपालिका १२ बस्ने ३६ वर्षीय बुद्धि बहादुर स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले परवानीपुरबाट ड्राइपोटतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रक जाँच गर्दा ट्रकको पछाडिको ढालामा लुकाई राखिएको लागूऔषध फेला पारी चालक स्याङ्तानलाई नियन्त्रणमा लिएको हो । प्रहरीले दुवै घटना सम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ ।




