रौतहट । रौतहटको गौर नगरपालिका १ स्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले नियन्त्रित लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका ४ का ३१ वर्षीय निल कुमार थापा मगर रहेका छन् । उनलाई बिहीबार बिहान भारतबाट नेपाल प्रवेश गर्ने क्रममा सशस्त्र प्रहरीको टोलीले शंका लागेर चेकजाँच गर्दा साथमा रहेको झोलाबाट लागुऔषध फेला पारेको हो ।
थापा मगरको साथबाट नुर्फिन ५० एम्पुल, सेरेज्याक ५० एम्पुल र फेनारगन ५० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । ती औषधिहरू सरकारद्वारा नियन्त्रित सूचीमा पर्ने भएकाले उनले ती औषधि अवैध रूपमा ल्याएको आशंका गरिएको छ ।
पक्राउ परेका थापा मगरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, रौतहटमा राखिएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




