बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १७ रामनगर चोकबाट करिब २० किलोग्राम अवैध लागूऔषध गाँजा बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी जैतापुरबाट खटिएको टोलीले रामनगरबाट मधुवनतर्फ जाँदै गरेको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकलमा सवार व्यक्ति प्रहरी देखेपछि मोटरसाइकल र बोरा छाडेर फरार भएका थिए ।
प्रहरीले छाडिएको बोराको तलासी गर्दा करिब २० किलो गाँजा फेला पारी बरामद गरेको हो । मोटरसाइकलको नम्बर खुल्न बाँकी रहेकाले फरार व्यक्तिको पहिचानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
हाल फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




