पर्सा । पर्सा प्रहरीले ठूलो परिमाणको चरेससहित एक जनालाई पक्राउ गरेको छ । बाराको परवानीपुरबाट वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको ट्रकबाट ३१९ केजी चरेस बरामद गरिएको हो । प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको उक्त ट्रकलाई परवानीपुर चोकमा रोकेर चेकजाँच गर्ने क्रममा चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतम मिश्रले ट्रकबाट बरामद चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको बताए । चरेससहित पक्राउ परेका व्यक्ति मकवानपुरको थाहा नगरपालिका १२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तान हुन् ।
स्याङ्तानले ट्रकमार्फत धादिङबाट चरेस ल्याएर वीरगन्ज ड्राइपोर्ट नाका हुँदै भारत पुर्याउने योजना बनाएको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले स्याङ्तानले लगाएको पाइन्टको खल्तीबाट नगद १ लाख ९२ हजार रुपैयाँ पनि बरामद गरेको छ ।
हाल उनलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ भने चरेस तस्करीमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




