सिरहा । डाँका तथा संगठित अपराधमा संलग्न रही लामो समयदेखि फरार रहेका सुजन विक उर्फ सुजेन्द्र लोहनीलाई प्रहरीले सिरहा–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ ।
उदयपुर जिल्ला त्रियुगा नगरपालिका १२ निवासी ३० वर्षीय लोहनी भारतमा लुकिछिपी बस्दै आएका थिए । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले असार १२ गते बिहान करिब १:०० बजे सिरहा नगरपालिका १७ खैरटोका नजिकैबाट उनलाई नियन्त्रणमा लिएको हो ।
लोहनी २०७९ फागुन १० गते भएको डाँकाको घटनामा संलग्न मुख्य अभियुक्तमध्ये एक हुन्। सो दिन मिर्चैया नगरपालिका ३ स्थित बताहा पुल नजिक ग्लोबल आइएमई बैंक, कल्याणपुर शाखाका कर्मचारीले बैंकबाट ९ लाख रुपैयाँ झिकेर कार्यालयतर्फ लैजाँदै गर्दा डाँका परेको थियो ।
कर्मचारीसँगै सुरक्षा जिम्मेवारीमा रहेका प्रहरी जवान नितेश खवास पनि थिए । तर बाटोमा निलो यमाहा र रातो अपाचे मोटरसाइकलमा आएका चार जना सशस्त्र डाँकाहरूले उनीहरूलाई कुटपिट गर्दै हतियार देखाएर रकम लुटेर फरार भएका थिए ।
प्रहरी अनुसन्धानपछि उक्त घटनामा संलग्न लोहनीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामार्फत सिरहा जिल्ला अदालतमा पेश गरिएको छ । बाँकी फरार प्रतिवादीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




