सर्लाही । नेपाल सरकारद्वारा लागू गरिएको अव्यवहारिक कर नीतिविरुद्ध देशभरका सुनचाँदी व्यवसायीहरूले आक्रोश पोखिरहेका छन् । सोही क्रममा सर्लाहीका सुनचाँदी व्यवसायीहरूले पनि अनिश्चितकालीन व्यवसाय बन्दको घोषणा गरेका छन् ।
सर्लाही सुनचाँदी व्यवसायी संघ, हरिवन ११ का अध्यक्ष निरन्जन कुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, कर नीतिको विरोधमा संयुक्त महासंघले घोषणा गरेको विशेष कार्यक्रमलाई समर्थन गर्दै सर्लाहीका सम्पूर्ण सुनचाँदी व्यवसायीहरू व्यवसाय बन्दमा सहभागी हुने निर्णय गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘महासंघको लिखित तथा मौखिक सूचनाको आधारमा प्राप्त भएको जानकारी अनुसार २०८२ साल असार १३ गतेदेखि सम्पूर्ण जिल्ला, नगर, वस्तुगत, एशोसिएट सदस्य व्यवसायहरू अनिश्चितकालीन रुपमा बन्द हुनेछन् ।’ संघले सम्पूर्ण सदस्यहरूलाई अर्को सूचना नभएसम्मका लागि व्यवसाय बन्द गर्न आग्रह गरेको छ ।





