सिरहा । सिरहा जिल्लाको गोलबजार नगरपालिका अन्तर्गत पर्ने जनता नमूना माध्यमिक विद्यालय चोहर्वाले यस वर्षको एसईई परीक्षामा अत्यन्तै निराशाजनक नतिजा प्रस्तुत गरेको छ । सरकारले विगत सात वर्षदेखि ‘नमूना विद्यालय’को हैसियतमा वार्षिक करोडौँ अनुदान दिँदै आएको यो विद्यालयबाट यस वर्ष एसईईमा सहभागी भएका १०६ मध्ये जम्मा १७ जना मात्र उत्तीर्ण भएका छन् ।
बाँकी ८९ जना विद्यार्थी ननग्रेड अर्थात पूर्ण रूपमा असफल भएका छन् । उत्तीर्ण भएकामध्ये पनि केवल १३ जनाले मात्र इच्छाएको विषय लिएर प्लस टु पढ्न सक्ने ग्रेड प्राप्त गरेका छन्, बाँकी ४ जनाको ग्रेड त निकालिए पनि प्राप्तांक अत्यन्त न्यून रहेको विद्यालय स्रोतले जनाएको छ ।
स्थानीय बासिन्दा तथा शिक्षासँग सरोकार राख्ने रामचन्द्र सिंह विद्यालयको कमजोर नतिजाका पछाडि राजनीतिक हस्तक्षेप, शिक्षकको उदासिनता र व्यवस्थापनको अक्षमता जिम्मेवार रहेको बताउँछन् । उनले भने, “विद्यालयमा साधन–स्रोत प्रशस्त छन्, तर पठन पाठनमा गम्भीरता छैन । चोहर्वा दरवारको तावेदारी गर्ने शिक्षक र एमालेको संगठन निर्माणमा लागेको समूहका कारण विद्यालयको गुणस्तर रसातलमा पुगेको छ ।”
उनका अनुसार विद्यालयमा योग्य शिक्षक सरुवा गरेर हटाइएका छन् र सट्टामा दरवार र नेतासँग नाता भएका व्यक्तिहरू भित्र्याइएका छन्, जसले अध्यापन छोडेर राजनीतिक क्रियाकलापमा सक्रियता देखाइरहेका छन् । विद्यालयका प्रधानाध्यापक ब्रह्मदेव महतोले पनि नतिजाप्रति गहिरो चिन्ता व्यक्त गर्दै भने, “रिजल्ट बिग्रिएको छ, अब के भनौँ र ? बोल्ने बाटो नै छैन ।”
यो अवस्थाले जनता नमूना माध्यमिक विद्यालय चोहर्वाको ‘नमूना’ हैसियतमाथि गम्भीर प्रश्न उठाएको छ । अब विद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गरी शैक्षिक रूपान्तरणका लागि जिम्मेवार र पारदर्शी नेतृत्व आवश्यक भएको स्थानीय अभिभावकहरू बताउँछन् ।




