सिराहा । सिराहा जिल्लाको भगवानपुर गाउँपालिका ४ स्थित जमुवा टोलमा सोमबार बिहान भएको आगलागीमा एक घर जलेर नष्ट भएको छ । आगलागीमा ६० वर्षीय जसकरण प्रसाद साहको घरमा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
प्रहरीका अनुसार आगलागी बिहानको समयमा भएको थियो । आगलागीको खबर पाएपछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण बारे हालसम्म यकिन खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यस घटनाबाट मानवीय क्षति नभए पनि घर तथा भित्र रहेका लत्ता कपडा, अन्नपात, फर्निचर, नगदसहित अन्य सामग्री जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।




