पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका २१ स्थित सव हुसेन मियाको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । २८ वर्षीय मियाको घरमा सोमबार बिहान अचानक विद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागीका कारण घरभित्र रहेका लत्ता कपडा, अन्नपात, फर्निचर, भाँडाकुँडा र अन्य सामग्री जलेर पूर्णरूपमा क्षति पुगेको स्थानीयले बताएका छन् । आगो लागेको सूचना पाउनेबित्तिकै स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले आगलागीको थप विवरण संकलन गर्दै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




