रौतहट । रौतहटको राजपुर नगरपालिका ३ बाट बिना भन्सार प्रवेश र ब्लुबुकको कागजात नभएको भारतीय नम्बरको स्कार्पियो गाडी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आइतवार साँझ नियन्त्रणमा लिएको सो सवारीसाधनलाई आवश्यक कारबाहीका लागि सोमवार गौर भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।
प्रहरीको अनुसार, आइतवार साँझ ५:१५ बजे राजपुर नगरपालिका ३ स्थित गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतीय नम्बर प्लेट BR 31P 0807 भएको स्कार्पियो गाडी रोकेको थियो । जाँच गर्दा सो गाडीमा इन्जिन नम्बर HA94H23936 र च्यासिस नम्बर MA1TA2HAN92H11591 रहेको खुलेको छ ।
प्रहरी प्रवक्ता तथा डिएसपी दीपककुमार रायका अनुसार गाडीको ब्लुबुक नभएको र भारतबाट भन्सार छलेर चोरी पैठारी गरी नेपाल ल्याइएको पाइएकाले सो सवारीसाधन बरामद गरिएको हो । बरामद गरिएको स्कार्पियोको बजार मूल्य करिब २० लाख रुपैयाँ आँकलन गरिएको छ । सो गाडीलाई गौर भन्सार कार्यालयमा बुझाएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सीमा क्षेत्रमा भन्सार छल्दै सवारी साधन ल्याउने कार्यमा निगरानी बढाएको जनाएको छ । रौतहट प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा अवैध गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान र कारबाही प्रक्रिया निरन्तर चलिरहेको उल्लेख गरिएको छ ।




