सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका ७ स्थित आदर्श टोलबाट करिब ६ किलो ८९२ ग्राम अवैध लागूऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति उदयपुर जिल्लाको बेलका नगरपालिका ६ निवासी ३६ वर्षीय भुईदल राई हुन् ।
उनलाई सोमबार राति धरमपुर प्रहरी चौकीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उदयपुरबाट सप्तरीतर्फ आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा राईलाई उक्त परिणामको गाँजासहित फेला पारिएको हो ।
मोटरसाइकलको नम्बर भने हाल खुलाइएको छैन । घटनासँग सम्बन्धित मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनी हाल फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




