धनुषा । जनकपुरधाम उपमहानगरपालिका १४ स्थित सडकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट एक वृद्धको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मधेश प्रदेश ०२–००१ क २२४० नम्बरको टिपरले ज ८ प ७७४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार क्षिरेश्वरनाथ नगरपालिका १० का ८० वर्षीय चलितर मण्डल गम्भीर घाइते भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक पनि गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काव्या अस्पताल जनकपुर पठाइएको जनाइएको छ । दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




