वीरगंज । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रकाशित गरेको नतिजा अनुसार पर्साका सामुदायिक तथा निजी विद्यालयको समग्र पास दर ३२.४९ प्रतिशतमा सीमित भएको छ ।
नियमिततर्फ परीक्षा दिएका विद्यार्थीमध्ये ३२.४९ प्रतिशत र प्राविधिकतर्फ १५.७१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । गत वर्षको तुलनामा पास दर केही बढेपनि नतिजा अझै पनि सन्तोषजनक नभएको शिक्षाविद्हरूको भनाइ छ ।
गत वर्ष २७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । शिक्षाविद् अनन्तकुमारलाल दासका अनुसार, “यस वर्षको नतिजा अघिल्ला वर्षको तुलनामा सुधार देखिए पनि अझै पनि उत्साहजनक भन्न सकिने अवस्था छैन ।”
यस वर्ष नियमिततर्फ १० हजार २३ जना विद्यार्थी सहभागी भएका थिए, जसमा ३ हजार २५७ जना मात्र उत्तीर्ण भएका छन् । प्राविधिक धारतर्फ २१० जना सहभागीमध्ये ३३ जना मात्र उत्तीर्ण भएका छन् ।
नियमिततर्फ ग्रेडिङ अनुसार ८ जना विद्यार्थीले ४.० GPA ल्याएका छन् । ३.६ देखि ४.० GPA सम्म ४५२ जना, ३.२ देखि ३.६ GPA सम्म ९२६ जना, २.८ देखि ३.२ GPA सम्म १,२६८ जना, २.४ देखि २.८ GPA सम्म ५८८ जना, र २ देखि २.४ GPA सम्म २३ जना विद्यार्थीले सफलता प्राप्त गरेका छन् ।
प्राविधिकतर्फ चार जना विद्यार्थीले ३.६ देखि ४.० GPA ल्याएका छन् भने १२ जनाले ३.२ देखि ३.६ GPA, १७ जनाले २.८ देखि ३.२ GPA ल्याएका छन् । बाँकी १७७ जना विद्यार्थी श्रेणीविहीन (NG) रहेका छन् ।
पर्सामा एसईईमा सामुदायिक विद्यालयबाट ९ हजार ४० जना र संस्थागत विद्यालयबाट २ हजार ३६४ जना विद्यार्थी सहभागी भएका थिए । शिक्षाविद्हरूका अनुसार यो नतिजाले प्रदेशमा सरकारी विद्यालयहरूको गुणस्तर, शिक्षण पद्धति र विद्यार्थीहरूको शैक्षिक पूर्वतयारी बारे गम्भीर समीक्षा आवश्यक रहेको संकेत गर्दछ ।




