बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका २ मा रहेको जगदम्बा स्टिल्स उद्योगको भट्टीमा विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार मंगलबार राति करिब ९:१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो ।
विस्फोटमा परी एक जना कामदार घाइते भएका छन् । घटनापछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान कार्य थालेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विस्तृत विवरण यकिन भइसकेको छैन । उनका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।
उद्योग सञ्चालनको क्रममा विस्फोट भएकाले ठूलो मानवीय क्षति हुने आशंका गरिएको थियो । तर, उद्योग प्रशासनले एक जना मात्र घाइते भएको पुष्टि गरेको छ । घाइते हुनेमा भारतको बिहारस्थित सीतामढी निवासी ३५ वर्षीय अजय बैठा रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद जोशीका अनुसार अजय बैठा उद्योगमा अपरेटरको रूपमा कार्यरत थिए । उनको दाहिने हातमा चोट लागेको छ भने आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ ।




