सिराहा । सिराहा जिल्लाको लहान नगरपालिका ११ स्थित पडरिया टोलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो भएको कारबाहीमा प्रहरीले खैरो हेरोइनजस्तो देखिने १ सय १८ ग्राम ६ सय १० मिलिग्राम लागूऔषध, नगद २ लाख ८२ हजार ७ सय १० नेपाली रुपैयाँ र १ हजार २ सय ५० भारतीय रुपैयाँ बरामद गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूमा लहान–११ पडरिया टोलका २८ वर्षीय मिथलेश कुमार चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाको टोलीले मिथलेश चौधरीको घरमा तलासी गर्दा सो लागूऔषधसहित नगद रकम फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




