सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरहीबिरपुरस्थित सडकमा सिटि सफारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
राजबिराजबाट लोखरमतर्फ जाँदै गरेको स १ ह ९०९ नम्बरको सिटि सफारीले शुक्रबार राति ठक्कर दिँदा विष्णुपुर गाउँपालिका ४ कनकट्टा निवासी ४० वर्षीय कुशेश्वर मरिक गम्भीर घाइते भएका थिए ।
घटनापछि तुरुन्तै गजेन्द्र नारायण सिंह अस्पताल, राजबिराजमा उपचारका लागि लगिए पनि उपचारको क्रममा मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनापछि सिटि सफारीका चालक फरार भएका छन् भने प्रहरी उनको खोजीमा खटिएको जनाएको छ ।
प्रहरीले सवारी साधन नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान सुरु गरेको छ । स्थानीयहरूले दुर्घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।




