धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरमा दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । आइतबार सोही ठाउँस्थित एक पोखरीमा मृत अवस्थामा फेला परेका बालिकाहरू ४ वर्षीया आरोही राउत र ३ वर्षीया मैथली राउत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरू शम्भु राउतकी छोरीहरू हुन् ।
स्थानीयवासीका अनुसार बालिकाहरू घरबाट खेल्न निस्किएपछि बेपत्ता भएका थिए । खोज तलासका क्रममा उनीहरू घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाले स्थानीय समुदायमा शोक छाएको छ ।




