सिरहा । सिरहामा एक जना शिक्षकले आफ्नै छात्रामाथि लामो समयदेखि यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको छ । गोलवजार नगरपालिका ८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक हरि श्रेष्ठले चार जना बालिकामाथि लामो समयदेखि यौन दुर्व्यवहार गरेको घटना सार्वजानिक भएको हो ।
नमुना विद्यालयमा अध्यनरत्त चार जना छात्राहरु माथि शिक्षक श्रेष्ठले कक्षामा पढाउने क्रममा संवेदनशिल अङ्गहरु छोइदिने, शरीर मुसार्ने अङ्गालो हालेर गाला सुमसुम्याउने जस्ता क्रियाकलाप गर्ने गरेको पीडित बालिकाहरुले बताएका छन् ।
पीडित बालिकाहरु शिक्षक श्रेष्ठको दुर्व्यवहारबाट आजित भएर अभिभावकहरुलाई घटना सुनाएका थिए । एक जना पीडित बालिकाले केहीदिन अगाडी नै विद्यालयका शिक्षिका रञ्जु सिंहलाई उनको हर्कतका बारेमा सुनाएका थिइन् ।
शिक्षिका रञ्जु सिंहले घटना थाहा पाएपछि प्रधानाध्यापक ब्रह्मदेव सिंहलाई सुनाइन् । प्रधानाध्यापक सिंहले शिक्षक हरि श्रेष्ठसँग तपाईको बारेमा यस्तो गुनासो आएको के हो ? भनि सोधी खोजी समेत गरेका थिए ।
घटना सार्वजानिक भएपछि शिक्षक श्रेष्ठ पीडित बालिकाको घरमै पुगेर आफूले बदनियतपूर्वक केही गरेको होइन्, यस विषयलाई धेरै अगाडी नबढाउन भन्दै माफि समेत मागेको खुलेको छ । यता, बालिकाहरुका अभिभावकले भने आफ्नी छोरीहरु माथि यौन दुर्व्यवहार गर्ने शिक्षक श्रेष्ठलाई कानुनी कारवाही अगाडी बढाउन विद्यालयसँग माग गरेका छन् ।
प्रधानाध्यपक लगायत शिक्षक र केही व्यक्तिहरुले घटना सामसुम पार्ने प्रयास गरिरहेको जानकारी पाएपछि आक्रोसित स्थानियहरुले विद्यालयको प्रशासनिक भवनमा तोडफोड समेत गरेका छन् । घटना सर्वजनिक भएपछि शिक्षक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




