सिराहा । सिराहाको धनगढीमाई नगरपालिका १३ स्थित भरनैनी बस्तीका करिब १५० घरधुरी वर्षौंदेखि खानेपानीको चरम अभावमा बाँच्न बाध्य छन् । तीन तहका सरकारहरूका पटक पटकका उपस्थितिका बाबजुद समस्या ज्यूँका त्यूँ छ ।
स्थानीयहरू अझै पनि एक जार पानीका लागि घण्टौँ लाइनमा बस्न बाध्य छन् । केही समयअघि नगरपालिका स्तरबाट दुई वटा ठूला बोरिङ जडान गरिएको थियो तर आवश्यक मात्रामा पानी नआएपछि समस्या समाधान हुन सकेन ।
बस्तीका बासिन्दाको दिनचर्या नै पानी खोज्ने काममा बित्ने गरेको छ । बिहानैदेखि लाइन लाग्ने, चर्को घाममा घण्टौँ कुर्ने, बल्ल पालो आएर एक जार पानी ल्याउने- यही जीवनशैली बनेको छ । यही पानीबाट खाना पकाउने, लुगा धुने र गाईवस्तुलाई खुवाउने सबै काम गर्नुपर्ने बाध्यता छ । कतिपय त खाली हातै फर्किनुपर्ने अवस्था समेत छ ।
बिहे, चाडपर्व वा बिरामी परेझैँ, यहाँ पानी आउने दिन प्रतीक्षा गरिन्छ । केही वर्षअघि चुनावी सभामा पानीको दीर्घकालीन समाधान गर्ने आश्वासन बाँडिएको थियो, तर चुनाव जित्नेबित्तिकै ती प्रतिबद्धता बिर्सिएको स्थानीयहरूको आरोप छ ।
हाल बस्तीमा पानीको ट्याङ्की त निर्माण भइसकेको छ तर पाइपलाइन विस्तार अझै पूर्ण भएको छैन । पाइप जडान नहुँदा ट्याङ्कीको सुविधा पनि काम लाग्न सकेको छैन ।
यसैबीच, केही दिनअघि सङ्घीय खानेपानीमन्त्रीको उपस्थितिमा सोही वडामा ‘डाबर खानेपानी योजना’ को उद्घाटनसमेत गरिएको थियो । समारोहले बासिन्दामा केही समयका लागि आशा जगाए पनि, धारामा अझै पानी नआएको गुनासो यथावत् छ ।
नगरपालिकाका अनुसार दीर्घकालीन समाधानका लागि अब पाइपलाइन विस्तार, पानीको स्रोत सुदृढीकरण र अन्य प्रविधिमार्फत बस्तीमा नियमित आपूर्ति सुनिश्चित गर्न पहल भइरहेको छ ।
स्थानीय सरकारका अनुसार, संघीय र प्रदेश सरकारसँग समन्वय गरी यो समस्या समाधानतर्फ ठोस कदम चालिँदैछ । तर पीडित समुदाय भन्छन्- बोलिएका शब्दभन्दा अब परिणाम देखिनुपर्ने समय आएको छ । जबसम्म धारामा पानी बग्दैन, तबसम्म उद्घाटन, उद्घोष र योजना सबै बेमतलब लाग्छन् ।




