महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ३ नवराजपुरस्थित सडकमा बुधबार बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।
ज ५ प ५०१४ नम्बरको मोटरसाइकलमा सवार भंगहा नगरपालिका ४ की ४० वर्षीया अमला देवी सरदार वातरको दुर्घटनामा गम्भीर घाइते भइ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटनास्थल नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र, गौशालामा उपचारको क्रममा उनको ज्यान गएको हो । दुर्घटनामा ज ५ प ५०१४ नम्बरको मोटरसाइकल चालक र सोही सवारीमा सवार अर्का एक जना पनि घाइते भएका छन् ।
दुबैलाई थप उपचारका लागि बर्दिबास पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न भारतीय नम्बर प्लेटको बीआर ०७ एजि ८१३२ नम्बरको मोटरसाइकलका चालक हाल फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।




