जनकपुर । धनुषा प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा दिनदहाडै पेस्तोल देखाएर लुटपाट गर्ने एक जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेका व्यक्ति भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको उस्राही ग्रामपञ्चायत, देवधा थाना ८ पिठुवा टोल निवासी २३ वर्षीय विजय मुखिया हुन् ।
गत असार २० गते जनकनन्दनी गाउँपालिका १ निवासी अजय कुमार गोइतलाई बैंकमा पैसा जम्मा गर्न जाँदै गरेको समयमा विजय मुखियाले बाटो छेकेर पेस्तोल देखाई लुटपाट गरेका थिए ।
घटनाका क्रममा मुखियाले गोइतसँग नगद २ लाख १६ हजार रुपैयाँ, १२ लाख १० हजार बराबरको चेक तथा एप्पल कम्पनीको आइफोन १६ प्रो लुटेका थिए । प्रहरीले मुखियालाई सोमबार साँझ धनुषाको सबैला नगरपालिका ९ ठिल्लाबाट पक्राउ गरेको हो ।
घटनामा प्रयोग गरिएको BR-32-AY-3938 नम्बरको निलो रंगको अपाचे मोटरसाइकल र लुटिएको ब्याग समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार विजय मुखिया पेशेवर लुटेरा हुन् र भारतमा पनि उनीमाथि ९/१० वटा आपराधिक मुद्दा दर्ता रहेका छन् ।
प्रहरीका अनुसार घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेका छन् र उनीहरूको खोजी जारी छ । पक्राउ परेका मुखियामाथि थप अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।




