धनुषा । नागरिकता सिफारिस लिन गएकी एक १७ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति धनुषा जिल्लाको एक स्थानीय तहका वडाध्यक्ष हुन् ।
पीडित किशोरीले हालै कक्षा १२ को परीक्षा दिइसकेकी थिइन् । उनी नागरिकताको सिफारिसका लागि वडा कार्यालय पुगेकी बेला वडाध्यक्षले “मैले जे जे भन्छु, त्यो मानेमा छिट्टै नागरिकता बन्छ” भन्दै अपमानजनक प्रस्ताव राखेका थिए । सो क्रममा वडाध्यक्षले शारीरिक रुपमा समेत दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ ।
किशोरीले घटना सार्वजनिक गरेपछि पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । धनुषा प्रहरीका अनुसार, ‘घटना गम्भीर छ, प्रारम्भिक प्रमाण र बयानको आधारमा वडाध्यक्षमाथि अनुसन्धान अगाडि बढाइएको छ । दोषी पाइए कडा कारबाही हुनेछ ।’
घटनाले स्थानीय बासिन्दा र सामाजिक सञ्जालमा व्यापक आक्रोश फैलिएको छ । अधिकारकर्मीहरूले पीडित किशोरीलाई सुरक्षाको प्रत्याभूति दिँदै दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेका छन् ।
वडाध्यक्षजस्ता पदाधिकारीहरूबाट नै दुर्व्यवहार हुनु राज्य व्यवस्थामाथिको गम्भीर प्रश्न हो । अहिले घटना अनुसन्धानको क्रममा रहेको र दोषीलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।




