रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित हाइस्कुल नजिकै जंगली हात्तीले गएराति एक स्थानीयको घर भत्काएको छ । रातको समयमा अचानक घरमै पसेर हात्तीले क्षति पुर्याएपछि पीडित परिवार त्रसित बनेको छ । पीडितका अनुसार जंगली हात्तीले घरका भित्ता भत्काउनुका साथै भित्र रहेका सामाग्रीहरू समेत नष्ट पारेको छ । यद्यपि मानवीय क्षति भने नभएको जनाइएको छ ।
पटक–पटक दोहोरिने हात्तीको आक्रमण
चन्द्रपुर नगरपालिका २ लगायत आसपासका क्षेत्रमा पछिल्ला केही हप्ता यता जंगली हात्तीको प्रवेश बढ्दो छ । हात्तीले स्थानीयको बाली नष्ट गर्नुका साथै घरमा आक्रमण गर्ने क्रम बढिरहेको छ । तर, यस सम्बन्धमा सम्बन्धित निकायले अहिलेसम्म कुनै ठोस कदम नचालेको स्थानीयको गुनासो छ ।
एक स्थानीय बासिन्दा बताउँछन्, ‘बाली खाइदिन्छ, घर भत्काइदिन्छ, हामी रातभर जाग्राम बस्छौं । तर वन विभागका तर्फबाट कुनै राहत, क्षतिपूर्ति वा सुरक्षा व्यवस्था छैन ।’ स्थानीयले सम्बन्धित निकायलाई तत्काल समाधानका लागि आग्रह गर्दै उनीहरु अब पनि सुनुवाइ नभए सडक आन्दोलनको विकल्प नरहेको बताउँछन् ।
सम्बद्ध निकायको ध्यानाकर्षण
स्थानीयवासी तथा सरोकारवालाहरूले वन तथा वातावरण मन्त्रालय, रौतहट जिल्ला वन कार्यालय तथा चन्द्रपुर नगरपालिकालाई तत्काल गम्भीर भएर आवश्यक कदम चाल्न आग्रह गरेका छन् । हात्ती नियन्त्रण, पीडितलाई क्षतिपूर्ति र दीर्घकालीन योजना लागू नगरेसम्म समस्या झन जटिल बन्ने देखिएको छ ।




