रौतहट । रौतहटको कटहरिया नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकीय लापरवाहीको आरोपमा पुन: विवादमा तानिएको छ । पछिल्ला तीन दिनमा केन्द्रमा भएका घटनाहरूपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् र पीडित पक्षले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
सबैभन्दा पछिल्लो घटना अनुसार, कटहरिया ३ की एक गर्भवती महिलालाई सोमबार (५ साउन) प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । चिकित्सकले भिडियो एक्स-रे गरेर डेलिभरी हुन अझै १० दिन बाँकी रहेको भन्दै सामान्य औषधि दिएर घर पठाएको पीडित परिवारको भनाइ छ । तर सोही राति महिलालाई तीव्र प्रसव पीडा भएपछि शिवनगरस्थित एक निजी क्लिनिक लैजाँदै गर्दा बाटोमै शिशुको नर्मल डेलिभरी भयो । दुर्भाग्यवश, नवजात शिशुको केही बेरमै मृत्यु भयो ।
शिशुको मृत्युको जिम्मेवार चिकित्सकको गलत सल्लाहलाई ठहर गर्दै परिवारजनले आक्रोश व्यक्त गरेका छन् । “१० दिन बाँकी भनिएको डेलिभरी त्यही दिन भयो, यसले चिकित्सकको लापरवाही स्पष्ट देखिन्छ,” पीडित पक्षले बताएका छन् । यसअघि, गत आइतबार (४ साउन) वडा नं. ४ बलिरामपुरकी एक महिलाले सोही स्वास्थ्य केन्द्रमा नर्मल डेलिभरी गरेकी थिइन् । शिशु जन्मेपछि सास फेरेको र आँखा खुलेको भएपनि नरोएको भन्दै उपचारका लागि झाँसफुलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
यस्तै, गत शनिबार राति (३ साउन) पत्रकार रविन्द्र प्रजापतिले झुन्डिएर आत्महत्याको प्रयास गरेपछि उनलाई पनि सोही केन्द्रमा ल्याइएको थियो । परिवारका अनुसार, त्यतिबेला प्रजापतिमा सास चलिरहेको थियो तर अक्सिजनको अभावका कारण उनको ज्यान गएको हो । यी तीन वटै घटनाले स्वास्थ्य केन्द्रको कार्य प्रणाली प्रति गम्भीर प्रश्न उठाएका छन् ।
पीडित परिवार र स्थानीय बासिन्दाले मंगलबार बिहानैदेखि केन्द्रमा तालाबन्दी गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी लापरवाह चिकित्सक र स्वास्थ्यकर्मीमाथि कडा कारबाहीको माग गरेका छन् । स्थानीयको भनाइमा, ‘सार्वजनिक स्वास्थ्य सेवामा यस्तो गम्भीर लापरवाही अब सहन सकिँदैन ।’




