सिरहा । सिरहाको लहान नगरपालिका ३ स्थित अस्पताल चोकबाट आज बिहान स्रोत नखुलेको ठूलो मात्रामा नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाका अनुसार भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमारलाई पक्राउ गरिएको हो । उनीसँग नेपाली रुपैयाँ १० लाख एक हजार ६९५ नगद फेला परेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक तथा गणपति नरेश भण्डारीका अनुसार बिहान करिब ९:३० बजे सुरक्षा बेस क्याम्प लहानबाट खटिएको चेक प्वाइन्ट टोलीले इनरुवाबाट लहानतर्फ आइरहेको यात्रुबाहक बसलाई रोकेर खानतलासी गर्दा कुमारको साथबाट उक्त नगद बरामद गरिएको हो ।
प्रहरीले स्रोत खुलाउन आग्रह गर्दा उनले सन्तोषजनक जवाफ दिन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका राहुल कुमारलाई आवश्यक कारबाहीका लागि नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिए ।




