सप्तरी । सप्तरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एकै दिन तीन जनाको मृत्यु भएको छ । रूपनी गाउँपालिका २ पौवा टोलमा शुक्रबार राति करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको हो ।
घरमै सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा ४५ वर्षीय बालेश्वर मण्डल र उनकी ३५ वर्षीया श्रीमती रामकुमारी खंगको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी खडक नगरपालिका ११ ननकारका ५८ वर्षीय मो. युनुस मियाको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै खेतमा रहेको विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा उनलाई करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए ।
उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । यी घटनापछि स्थानीय बासिन्दाहरूमा शोक र त्रासको वातावरण रहेको छ । प्रहरीले दुवै घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




