सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ७ मोहनगञ्जस्थित भित्री सडकखण्डमा स्कुल बसको चक्कामा चेपिएर पाँच वर्षीया स्कुले बालिकाको ज्यान गएको छ ।
स्थानीय रमेश महतोकी छोरी आशिका महतोको म प्र ०३–००१ क २५४२ नम्बरको टेमुको एकेडेमी स्कुल बसबाट ओर्लने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ईश्वरपुर नगरपालिका १ चौलिखामा सञ्चालित टेमुको एकेडेमी स्कुलमा अध्ययनरत छात्रा महतो स्कुल बसबाट तल झर्ने क्रममा बसको पछाडिको चक्काले चेपिएर गम्भीर घाइते भएकी थिइन् ।
घाइते बालिकालाई उपचारका लागि जीवन नारायण अस्पताल, बयलबास लगिएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव पोस्टमार्टमका लागि मलंगवा स्थित सरकारी अस्पतालमा राखिएको छ ।
बस चालक घटनापछि फरार रहेका छन् भने घटनाको विषयमा गहिरो अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।




