रौतहट । रौतहट जिल्लामा वन तस्करीमा प्रयोग भएको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट ठूलो परिमाणमा सालको काठ बरामद गरिएको छ । जङ्गलसहिया सव डिभिजन वन कार्यालयको गस्ती टोलीले कटहरिया नगरपालिका १ भसेडवा क्षेत्रबाट उक्त गाडी नियन्त्रणमा लिएको हो ।
टोलीको नेतृत्व वन अधिकृत विनोद जेठराले गरेका थिए भने सशस्त्र प्रहरी बलका जमदार उपेन्द्र यादवको समेत सक्रिय सहभागिता थियो । बुधबार राति करिब ८ बजे भारतको नम्बर प्लेट एमएच ०४ डीबी ६३५३ भएको स्कार्पियो गाडीलाई शंकास्पद देखेर टोलीले रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए । करिब ७ किलोमिटरसम्म पछ्याएर गाडी नियन्त्रणमा लिइएको हो ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त कुमार साहका अनुसार स्कार्पियो गाडीभित्र ४ थान सालको गोलिया, करिब ४५ क्युफिट सालको काठ फेला परेको छ । बरामद काठको बजार मूल्य दुई लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ । फरार चालकको खोजी तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको साहले जानकारी दिए ।
यसैबीच, डिभिजन वन कार्यालय रौतहट अन्तर्गतको गैंडाटार सव डिभिजन वन कार्यालयको टोलीले बिहीबार राति गैंडाटार गाउँस्थित कालापानी सामुदायिक वन उपभोक्ता समूह अन्तर्गतको घाटगद्दि पश्चिमको वन क्षेत्रबाट तस्करीको तयारी अवस्थामा राखिएको सालको चिरान काठ बरामद गरेको छ ।
रेन्जर लक्ष्मी कर्णको नेतृत्वमा गरिएको गस्ती टोलीले तस्करहरूले प्रयोग गरेको दुई वटा साइकलमा लोड गरिएको सालको काठ फेला पारेको हो । रौतहटमा डिभिजन प्रमुखको जिम्मेवारी सम्हालेपछि हेमन्त कुमार साहको नेतृत्वमा अवैध काठ कटान तथा तस्करी नियन्त्रण अभियान प्रभावकारी देखिएको छ । लगातार गस्ती, निगरानी र समन्वयमार्फत तस्करीमा संलग्न गिरोहमाथि कडा निगरानी राखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।




