जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ४ मा खुकुरी प्रहार गरी एक किशोरीको हत्या गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ९ इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साह रहेका छन् । उनी साउन १४ गते राति साढे १० बजे पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एक पत्रकार सम्मेलन गरी अभियुक्त साहलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार रामबाबुले साउन १२ गते राति करिब साढे ११ बजे आशा यादव, उनकी छोरी अञ्जलीकुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए ।
घटनामा गम्भीर घाइते भएकी १६ वर्षीया अञ्जलीकुमारी यादवको उपचारको क्रममा साउन १३ गते राति साढे १२ बजे मृत्यु भएको थियो । मृतककी आमा आशा यादवको धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै अर्की घाइते राधा यादव भने उपचारपछि घर फर्किसकेकी छन् । प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार रामबाबु साह यसअघि आफ्नै श्रीमतीको हत्या अभियोगमा दोषी ठहर भई पाँच वर्ष जेल सजाय भोगिसकेका थिए । उनी २०७७ सालमा जेलमुक्त भएपछिको समयमा आशा यादवसँग नजिकिएका थिए र दुबै जनकपुरधाममा डेरा गरी बस्दै आएका थिए ।
तर पछिल्लो समयमा आशा यादवले रामबाबुसँगको सम्बन्ध तोड्ने प्रयास गरेपछि आक्रोशित रामबाबुले उक्त जघन्य घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




