बारा । बारा जिल्लाको बारागढी गाउँपालिकामा ऐलानी जग्गा विवादले उग्र रूप लिँदै हिंसात्मक झडपमा परिणत भएको छ । बारागढी ३ सुन्दरपुरमा गत असार २५ गते दिउँसो भएको घटनामा रामएकवाल चौधरीमाथि कोदालो प्रहार गरी ज्यान लिन खोजिएको आरोपमा ७ जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा दर्ता गरिएको जाहेरीअनुसार, सुन्दरपुरका ४० वर्षीय नन्दलाल चौधरी र २७ वर्षीय हरिन्द्र पासवानले रामएकवालमाथि ज्यान मार्ने उद्योगमा संलग्न ७ जनाको नामसहित उजुरी दिएका हुन् ।
उजुरीमा बारागढी ३ नयका टोलका ४७ वर्षीय बिहारी पण्डित, ४० वर्षीय गोरख पण्डित, ६० वर्षीय ओकिल मिया, ३० वर्षीय जमिल अखतर मिया, ४१ वर्षीय शिवचन्द्र यादव, ३० वर्षीय सलाउद्दिन मिया र २५ वर्षीय अलाउद्दिन मिया उल्लेख छन् ।
घटनाको विवरण अनुसार, रामएकवाल चौधरी विगत दुई दशकदेखि जोतभोग गर्दै आएको भनिएको सुन्दरपुरस्थित ऐलानी जमिनमा पुगेका बेला जमिल अखतर मियाले उक्त जमिन आफ्नो भएको दाबी गर्दै विवाद सुरु गरेका थिए ।
त्यसक्रममा जमिलले अन्य प्रतिवादीहरूलाई बोलाएर रामएकवाललाई घेराबन्दीमा पारेको र सोही क्रममा शिवचन्द्र यादवले कोदालोले टाउकोमा आक्रमण गरेको उजुरीमा उल्लेख छ ।
रामएकवाल गम्भीर घाइते भई हाल काठमाडौंको न्युरो अस्पतालमा उपचाररत छन् । घटनामा उनका छोरा दिपेन्द्र चौधरी समेत घाइते भएका छन् । रामएकवालका दाजु चन्देश्वर चौधरीका अनुसार आर्थिक अवस्था कमजोर भएकाले औषधोपचारमा समेत समस्या भइरहेको छ ।
‘प्रहरीले प्रतिवादीहरूसँग दुई लाख रुपैयाँ उठाएर उपचारमा सहयोग गर्ने आश्वासन दिएको थियो, तर अहिलेसम्म कुनै सहयोग आएको छैन,’ उनले गुनासो गरे । ‘झन् चिन्ताजनक त के छ भने, चन्देश्वरका अनुसार यति गम्भीर घटनामा संलग्न भनिएका व्यक्तिहरू हालसम्म पनि खुलेआम हिँडिरहेका छन् । कसैलाई पक्राउ गरिएको छैन,’ उनी भन्छन् ।
तर, यस विषयमा बाराका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सन्तोष तामाङले आफूलाई घटना बारे जानकारी नभएको प्रतिक्रिया दिए ।




