महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका १० स्थित वनपथ चोकमा ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शनिबार दिउँसो प्र २-०३-००१ ख ६४६१ नम्बरको ट्रकले म प्र ०२-००८ प ६८३४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
उक्त स्कुटर चालक सर्लाही, लालबन्दी नगरपालिका ९ बस्तिपुर क्याम्पस चोक निवासी ३८ वर्षीय नर कुमार आचार्य गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल शुभ स्वस्तिक अस्पताल बर्दिबासमा लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुर्घटनामा स्कुटरमा सवार अर्का एक व्यक्ति घाइते भएका छन् र उनी सोही अस्पतालमा उपचाररत छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




