सिराहा । सिराहा र पर्सा जिल्लामा प्रहरीले शनिबार बिहान दुई फरक स्थानबाट ठूलो परिमाणको अवैध लागूऔषध गाँजा बरामद गर्दै १० जनालाई पक्राउ गरेको छ ।
सिराहाको औरही गाउँपालिका ४ नयाँ कमलपुर गाउँबाट करिब १ सय ३ किलोग्राम अवैध गाँजासहित गोलबजार नगरपालिका १ मुक्सार निवासी ४२ वर्षीय जय राम जोशीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको टोलीले उनीहरूलाई शनिबार बिहान गाँजा सहित नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
त्यस्तै, पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका ४ करबोला चोकबाट ८ किलो ४ सय ४० ग्राम गाँजासहित पर्सागढी नगरपालिका ९ एकटाङ्गा बस्ने ३४ वर्षीय जग मोहन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले बीआर ०५ एजि ६८०५ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शंका लागि जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।
दुबै घटनामा बरामद गाँजालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको सम्बन्धित प्रहरी कार्यालयहरूले जनाएका छन् ।




