पर्सा । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिका २ सुर्जाहाकट्टिस्थित खेतबाट प्रहरीले करिब ४० किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
शुक्रबार दिउँसो अस्थायी प्रहरी पोष्ट सुर्जाहाकट्टिबाट खटिएको प्रहरी टोलीले खेतमा रहेको परालको थुप्रोभित्र लुकाई राखिएको अवस्थामा तीनवटा बोराबाट उक्त गाँजा फेला पारेको हो ।
गाँजा बरामद गरेपछि प्रहरीले घटनास्थल वरपर निगरानी बढाएको छ भने उक्त लागूऔषध कसले र किन राखेको भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले लागूऔषध विरुद्धको अभियान अन्तर्गत चेकजाँच र निगरानी कार्यलाई अझ सशक्त बनाइएको जनाएको छ ।




