सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ४ जमुवा टोलमा आइतबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ वर्षीय मुकेश कुमार साह रहेका छन् ।
आफ्नै आँगनमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो ।
तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




