रौतहट । रौतहटमा ठक्कर दिएर भागेको पिकअप गाडी र चालकलाई प्रहरीले बारा पथलैयामा नियन्त्रणमा लिएको छ । ठक्करबाट नेपाल प्रहरीका एक जना पूर्व असईको मृत्यु भएको छ । दिउँसो सवा ३ बजे प्रहरी चौकी पथलैयाको टोलीले को २ च ३२६३ नम्बरको पिकअप गाडी र फरार चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चालक मोरङ, सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँ टोल निवासी ईन्द्र बहादुर दर्जीका छोरा, अन्दाजी २४ वर्षीय रमेश परियार रहेको ईलाका प्रहरी कार्यालय रौतहट विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले बताए । चालकसहित गाडीलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय विजयपुरमा ल्याइएको इन्स्पेक्टर यादवले जानकारी दिए ।
आइतबार बिहान साढे १० बजे विजयपुरबाट जंगलसैया जाँदै गरेको प्रदेश २ ००३,००५ प ३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रातो नम्बर प्लेटको पिकअप गाडीले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कटहरिया नगरपालिका ५ निवासी नेपाल प्रहरीका पूर्व असई ६० वर्षीय सुशिलकुमार क्षेत्रीको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो भने पछाडि सवार उनकी श्रीमती ५५ वर्षीया रिता रोक्काको खुट्टामा सामान्य चोट लागेको छ ।
घाइते दम्पतीलाई उपचारका लागि तत्काल एम्बुलेन्सबाट पठाइएकोमा वीरगंज स्थित नेशनल मेडिकल अस्पतालका डाक्टरले पूर्व असई क्षेत्रीलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले बताए । यस्तै अर्की घाइते रोक्काको उपचार नेशनल मेडिकल अस्पतालमा भइरहेको छ ।
मोटरसाइकललाई ठक्कर दिएर चालकले पिकअप तीव्र गतिमा कुदाएर फरार भएका थिए । दुर्घटनास्थलमा प्रहरी चौकी दुधिअवाबाट असई विन्देश्वर प्रसाद यादवको कमाण्डमा तीन जनाको टोली खटिएको छ । माबी दुधिअवा अगाडी रहेको सिसी टिभी क्यामरामा ठक्कर दिएर भागेको पिकअप गाडीको नम्बर को २ च ३२६३ देखिएको इन्स्पेक्टर यादवले जानकारी दिए ।
इन्सपेक्टर यादवका अनुसार सिसी टिभीमा गाडीको नम्बर देखिए पछि सुनसरी प्रहरीसँग समन्वय गरी गाडीको बारेमा विस्तृत जानकारी लिएर प्रहरी सञ्चार पठाएको आधारमा गाडीसहित चालक पक्राउ परेका छन् । उक्त स्थान प्रहरी चौकी दुधिअवाबाट करिब १ किलोमिटर पूर्वमा पर्छ । स्थानिय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाको धेरै समयसम्म घाइते रोक्का बाटोमै लडेको अवस्थामा रहेकाले अत्यधिक रक्तश्राव भएर मृत्यु भएको थियो ।




