काठमाडौं । करेन्ट लागेर पर्सा र महोत्तरी जिल्लामा दुई जनाको ज्यान गएको छ । पर्साको जगरनाथपुर गाउँपालिका ४ जगरनाथपुर बस्ने २४ वर्षीया आयसा खातुनको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
माईती घरमा तारमा कपडा सुकाउने क्रममा वायरिङको तारबाट करेन्ट सर्ट भई गम्भीर घाइते भएकी उनलाई तत्कालै प्रादेशिक अस्पताल पोखरिया लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, महोत्तरीको गौशाला नगरपालिका ३ नवराजपुरका २२ वर्षीय अरबिन्द मण्डलको पनि गए राति करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा विद्युतीय नाङ्गो तारबाट करेन्ट लाग्दा घाइते भएका मण्डललाई शुभ स्वस्तिक अस्पताल बर्दिवास पुर्याइएको थियो ।
तर उपचारकै क्रममा उनको पनि ज्यान गएको हो । दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




