धनुषा । भारतबाट अवैध रूपमा ल्याइएको सामान नियन्त्रणमा लिन खोज्दा धनुषामा सशस्त्र प्रहरी बल र तस्कर समूहबीच झडप भएको छ । बुधबार साँझ विदेह नगरपालिका २ दुहवीस्थित आँप बगैंचामा सशस्त्र प्रहरी बल र तस्करहरूबीच झडप भएको हो ।
भारतबाट तस्करी हुँदै आएको सामान नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपी शैलेन्द्र थापाको कमाण्डमा गएको टोलीमाथि ढुंगामुढा प्रहार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
तस्कर समूह र केही स्थानीय बासिन्दा एकै ठाउँमा जम्मा भई सुरक्षाकर्मीमाथि आक्रोशित ढंगमा आक्रमण गरेपछि स्थिति नियन्त्रण गर्न सशस्त्र प्रहरीले एसएलआरबाट चार राउण्ड हवाई फायर गर्नुपरेको थियो ।
घटनास्थलबाट सशस्त्र प्रहरीले एउटा मोटरसाइकल र केही किराना सामान नियन्त्रणमा लिएको जानकारी दिए । झडपमा कुनै मानवीय क्षति भएको बारे पुष्टि भइसकेको छैन ।
सिमावर्ती क्षेत्रहरूमा बढ्दो तस्करी र त्यससँग सम्बन्धित झडपहरूले स्थानीय सुरक्षा चुनौती थपिदिएको स्थानीय प्रशासनको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




