रौतहट । फतुवा विजयपुर नगरपालिकामा कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवको मिलोमतोमा करोडौं रुपैयाँको भ्रष्टाचार भएको खुलेको छ । विभिन्न स्रोत र कागजातका आधारमा देखिएको तथ्यले दुबै जनाले पदको दुरुपयोग गर्दै नियम विपरीत निर्णय, गैरकानूनी नियुक्ति र बजेट दुरुपयोगमार्फत ठूलो आर्थिक हिनामिना गरेको पुष्टि भएको हो ।
गत आव २०८१/८२ मा योजना प्रमुख बिल्लुराय यादवलाई हटाई, कार्यालय सहयोगी रामशंकर यादवलाई सहायक कम्प्युटर अपरेटर पदमा पुनः नियुक्त गर्दै रातारात योजना शाखा प्रमुखको जिम्मा दिइयो । यो नियुक्ति बिना कुनै औपचारिक प्रक्रिया गरिएको हो । यस कदमले सम्पूर्ण योजना शाखाको बजेट तहसनहस भएको फतुवा विजयपुर १ का समाजसेवी अवधेशकुमार यादवले बताए ।
कार्यालयमा कार्यरत आधिकारिक ड्राइभर हुँदा हुँदै अतिरिक्त ड्राइभर र ७० वर्षीय बृद्ध बद्री थापा, स्वास्थ्यकर्मी परमेश्वर यादवसहित ४–५ जनालाई गैरआवश्यक रूपमा नियुक्ति दिइएको समाजसेवी यादवले जानकारी दिए । यसले सरकारी गाडीमा अनावश्यक यात्रा तथा बारम्बारको प्रयोग, खाना खाजा भत्ता र तलव भुक्तानी मार्फत नगरपालिकालाई थप आर्थिक बोझ पुर्याएको छ ।
योजनाबाहेक दैनिक ४० किलोमिटर गाडी चलाइने, साथै आफ्नो निजी गाडी र बारा जिल्लाका गाडीहरूलाई समेत दैनिक १००–२०० लिटर पेट्रोल डिजल कुपन वितरण गरिएको तथ्य फेला परेको फतुवा विजयपुर २ निवासी अवकास प्राप्त नेपाल प्रहरीका सई रामानन्द यादवले दाबी गरे ।
इ बिल्डिङ्गका लागि पहिलाको सप्लायरबाट औषधि खरिद गर्दा नियम विपरीत मूल्यवृद्धि गरिएको छ । टेन्डर प्रक्रियामा बचत भएको ७१ लाख रुपैयाँलाई पुन: त्यही सप्लायरबाट औषधि र सेनेट्री पेड खरिद गरि अनावश्यक रूपमा खर्च बढाइएको पूर्व सई यादवको भनाई छ ।
पूर्व सई यादवका अनुसार फतुवा विजयपुर नगरपालिकामा हालसम्म आएका प्रमुख प्रशासकीय अधिकृतमध्ये सबैभन्दा बढी भ्रष्ट भरत यादव रहेको उनको आरोप लगाए । फतुवा विजयपुरको हाकिम भएर यादवले कावा मेयर खातुनसँग मिलोमतोमा प्राय: अधिकांस कार्यक्रम बाराको निजगढ, सिमरा, कलैयामा सञ्चालन गर्दै आएका छन् ।
विभिन्न चेतनामूलक कार्यक्रमको नाउँमा बाराका तीन वटा एनजिओलाई १ करोड रुपैयाँभन्दा बढी रकम छुट्याएको पूर्व सई यादवले बताए । यस सम्बन्धी प्रतिक्रिया लिन प्रशासकीय यादवलाई फोन गरेर सोध्दा होइन केही मानिसलाई करारमा होइन्, दैनिक ज्यालादारीमा राखेको स्वीकार गरेका छन् ।
उनले अन्य आरोपको खण्डन गर्दै ‘आउनुस न बसेर कुरा गरौंला, किन रिसाउनु भएको छ ?’ भन्दै पन्छिए । त्यस्तै कावा मेयर खातुनले सम्पूर्ण आरोपको खण्डन गर्दै आफूविरुद्द षड्यन्त्र भइरहेको प्रतिक्रिया दिइन् । २०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट फतुवा विजयपुर नगरपालिकामा मेयर पदमा गोपालप्रसाद यादव, उपमेयरमा अम्बेया खातुनसहित ७ जना वडा अध्यक्ष निर्वाचित भएका थिए ।
२०८० सालमा विशेष अदालतबाट दोषी ठहर भएर तत्कालीन मेयर यादवको पद गुमेसँगै उपमेयर खातुनले कार्यवाहक मेयरको जिम्मेवारीमा पाएपछि नगरपालिकामा चौतर्फी बेथिती देखिएको छ । कार्यवाहक मेयर खातुन बजेट भागबण्डामा अल्झिने गरेको कारण समयमा नगर सभा समेत हुँदैन् ।
यो प्रकरणले फतुवा विजयपुर नगरपालिकामा सुशासन र पारदर्शिताको अभाव देखाएको स्थानियको भनाई छ। नियम विपरीत नियुक्ति, सरकारी सम्पत्तिको निजी प्रयोग, बजेट दुरुपयोग र टेन्डर प्रक्रियामा हेरफेरजस्ता कार्यहरूले भ्रष्टाचारको गहिरो जाल रहेको संकेत गरेको जनाइएको छ ।
स्थानीय तहमा यस्तो किसिमको मिलोमतोले योजनाहरूको गुणस्तर र जनताको विकास आशालाई ठूलो क्षति पुर्याउने मात्र होइन, सरकारी स्रोतको दुरुपयोग मार्फत आर्थिक अनुशासनमा गम्भीर आघात पुर्याउँने गरेको स्थानिय विजय यादवले बताए ।
यस मामिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा सम्बन्धित निकायले छानबिन गरी कारबाही नगरेसम्म स्थानीय तहमा यस्ता घटना दोहोरिन सक्ने खतरा उच्च रहने देखिने स्थानियको भनाई छ ।
गत असार १० गते हुनुपर्ने नगरसभा हालसम्म हुन सकेको छैन् । चार दिन अघि आएको मन्त्रालयको टोलीले फतुवा विजयपुर नगरपालिकाका सबै जनप्रतिनिधिलाई बैठक राखेर छलफल गराउँदा आगामी ३० गते नगरसभा हुने सहमति भएको थियो । तर, बजेटकै भागबण्डाको विषय लिएर पटक पटक अड्किने नगरसभा आगामी ३० गते सफल हुन्छ कि हुँदैन् ? हेर्न बाँकी छ ।




