रौतहट । रौतहटको गुजरा नगरपालिकाको कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले आइतबार तालाबन्दी गरेका छन् । लामो समयसम्म सामाजिक सुरक्षा भत्ता र बालपोषण भत्ताको रकम नपाएको भन्दै उनीहरूले यस्तो कदम चालेका हुन् ।
गुजरा नगरपालिकाले एनआईसी एशिया बैंक सिमरा भवानीपुर शाखामार्फत भत्ता वितरण गर्दै आएको छ । नगरपालिकाले गत असार ११ गते नै सामाजिक सुरक्षा भत्ताको रकम बैंकको खातामा जम्मा गरेको भएपनि लाभग्राहीहरूले अहिलेसम्म रकम पाएका छैनन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय नारायण देवकोटाले आफू कार्यभार सम्हालेपछि पहिलो प्राथमिकतामा भत्ता वितरणलाई राखेको बताउँदै बैंकमा रकम पठाइसकेपनि लाभग्राहीले नपाउनु दुःखद भएको टिप्पणी गरे ।
स्थानीयका अनुसार, बालपोषण भत्ताको रकम बैंकले एक वर्षदेखि वितरण गरेको छैन । भत्ता लिन जाँदा बैंकले कर्मचारी अभावको कारण देखाउने गरेको उनीहरूको गुनासो छ । नगरपालिकाले ज्येष्ठ नागरिक भत्ताका लागि ५ करोड रुपैयाँ र बालपोषण भत्ताका लागि ९४ लाख रुपैयाँ बैंकमा जम्मा गरिसकेको छ ।
एनआईसी एशिया बैंक शाखा प्रमुख सदेउ प्रवेजले विभिन्न कारणले भत्ता वितरणमा ढिलाइ भएको स्वीकार गर्दै तालिका प्रकाशनमा ढिलाइ भएकाले वितरण प्रभावित भएको बताए । उनले अब छिट्टै रकम वितरण गर्ने प्रतिवद्धता जनाए ।
नगरपालिकाको तथ्यांक अनुसार, गुजरामा ३ हजार ३ सय जना ज्येष्ठ नागरिक भत्ता लाभग्राही र ५ हजार ४ सय जना बालपोषण भत्ता लाभग्राही रहेका छन् ।




