वीरगञ्ज । वीरगञ्जको ठोरी गाउँपालिका २ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ठोरी २ ढेँडुखोलाका मनोज कठायतका ८ वर्षीय छोरा अंश कठायत र ४ वर्षीय छोरा आयांस कठायतको मृत्यु भएको हो ।
उनीहरुको आज बिहान १० बजेको आसपासमा खोलामा नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
ढेँडुखोलामा नुहाउने क्रममा दुई बालक अचानक डुबेर पानी माथि तैरिरहनेको अवस्थामा स्थानीयले उद्धार गरेर स्वास्थ्य चौकी ठोरीमा पुर्याइएको थियो । स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्दा दुवै बालकको मृत्यु भइसकेको थियो ।
पर्सा प्रहरीका सूचना अधिकारी लम्सालले आवश्यक मुचल्का तयार पारेर मृतक बालकको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल ल्याइएको जानकारी दिए ।




