रौतहट । भारत सरकार मार्फत चन्द्रनिगाहपुर अस्पताललाई प्रदान गरिएको एम्बुलेन्स लामो समयदेखि प्रयोगविहीन अवस्थामा धुलोले धाकिएको छ । अस्पतालमा राखिएको उक्त गाडीका पाङ्ग्रा पन्चर भइसकेका छन् भने चारैतिर धुलोले ढाकेको छ ।
आकस्मिक र आपतकालीन स्वास्थ्य सेवामा प्रयोग हुने यो एम्बुलेन्स लामो समयदेखि निष्क्रिय हुँदा बिरामीहरूले महँगोमा निजी एम्बुलेन्स सेवा लिन बाध्य हुनु परेको स्थानीयवासीहरूको गुनासो छ । स्थानीय समुदायले यस प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै यसलाई किन मर्मत गरिएन र प्रयोगमा ल्याइएन भनी प्रश्न उठाएका छन् ।
चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेसँग स्थानीयले प्रश्न सोध्दै भनेका छन्, “यो सहयोग उपचारका लागि आएको हो या चुनावको बेला मात्र प्रदर्शनका लागि ?” “यसलाई पुन: सञ्चालनमा ल्याउन तुरुन्त के योजना छ ?”
स्थानीयवासीहरू अब केवल जवाफ मात्र नभई यथाशीघ्र व्यवहारिक कदमको अपेक्षा गरिरहेका छन् । सामाजिक सञ्जालमा स्थानीयहरूले एम्बुलेन्सको अवस्था प्रति गम्भीर प्रतिक्रिया दिए । अनुज कृष्ण बन्जराले भने, “गणतन्त्रमा यस्तो लापरबाही हुनु उचित छैन ।” सन्तोष मिश्राले भने, “चुनाव नजिकिँदा नयाँ बजेटसँगै नयाँ एम्बुलेन्स र उपकरण आउने आशा गरौं ।”
सुवास अधिकारीले भने, “अरू देशबाट आएको सहयोग सदुपयोग गर्न नसक्ने जनप्रतिनिधि छन् भने देश कसरी अघि बढ्छ ?” भनी आलोचना गरेका छन् । रविन काफ्लेले भने, “नगरपालिकासँग कि बजेट छैन कि इच्छा छैन, यदि कुनै इच्छुक भए मर्मत खर्च बारे सल्लाह सुरु गरौं,” भनी समस्या समाधानतर्फ पहल गर्न आग्रह गरेका छन् ।
चन्द्रपुर अस्पतालको धुलाम्मे एम्बुलेन्सले स्थानीय स्वास्थ्य सेवा प्रणालीमाथि प्रश्न उठाएको छ । यस्तो बेला जहाँ आपतकालीन सेवाको आवश्यकता अत्यन्त महत्वपूर्ण हुन्छ, त्यहाँ सहयोग स्वरूप प्राप्त उपकरण प्रयोगमा नराख्नु स्थानीय प्रशासन र स्वास्थ्य व्यवस्थापन पक्षको जिम्मेवारी प्रति चिन्ताजनक विषय बनेको छ ।
मेयर संजय काफ्लेको जवाफ र आगामी योजना के हुनेछ, स्थानीय वासीको नजर अहिले त्यसतर्फ सोजिएको छ । स्वास्थ्य सेवा सुधार र आपतकालीन व्यवस्थापनमा कडा निगरानी र प्रभावकारी कदम आवश्यक भएको यो बेला, स्थानीय सरकार र सम्बन्धित निकायले जनताको आशा र विश्वासलाई पुनः जगाउनु पर्ने चुनौती पनि रहेको छ ।




