रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा इन्धन खर्च र यातायात भुक्तानी प्रक्रियामा अनियमितता भएको खुलेको छ । महालेखा परीक्षकको कार्यालयले कार्यवाहक मेयर अम्बेया खातुनसँग ७ लाखभन्दा बढी रुपैयाँ असुल गर्न सिफारिस गरेको हो ।
कावा मेयर खातुन र प्रमुख प्रशासकीय अधिकृत भारत यादवले पत्रकार सम्मेलन गरेर आफूहरुले कुनै भ्रष्टाचार नगरेको, नियम कानुन मिचेर कुनै काम नगरेको बताएको चार दिन नबित्दै महालेखा परीक्षकको कार्यालयले गरेको सिफारिस बाहिरिएको छ ।
पिएएमएस प्रणालीमार्फत माग फाराम स्वीकृत गर्ने, खर्च लेख्ने र इन्धन आपूर्तिकर्तासँगको कारोबारमा पालिकाको ध्यान नजाँदा आर्थिक अनियमितताको देखिएको हो ।
जाँचको क्रममा, नेपाल आयल निगमले तोकेको दरमा इन्धनको बिल जारी नगरी लामो अवधिको बिल जारी गरिएको र सोही आधारमा भुक्तानी गरिएको पाइएको छ । यसले तोकिएको दरभन्दा बढी भुक्तानी देखिएको छ ।
परीक्षण गरिएका ६ महिनामा कुनै पनि सवारी साधनको लागि इन्धनको मासिक मापदण्ड तयार नगरिएको, सवारी साधनको लगबुक नभरिएको, कुपन खाली रहेको, कुपन नमर्किएको तथा प्रयोग विवरण नदिइएकाले इन्धन खर्च मितव्ययी र उपयुक्त रहेको छ भन्ने प्रमाणित गर्न नसकिने अवस्था देखिएको छ ।
अझै गम्भीर कुरा, भौचर नम्बर २८–२०८०१२१९१ अन्तर्गत १४ महिनाको यातायात खर्च शीर्षकमा पालिकाकी उपप्रमुख हाल कार्यवाहक मेयर अम्बेया खातुनलाई ७ लाख १४ हजार भुक्तानी गरिएको पाइएको छ ।
तर, उपप्रमुखलाई पहिले नै पालिकाबाट यातायात साधन उपलब्ध गराइएको हुँदा यो खर्च लिन मिल्दैन भन्ने जाँच समितिको निष्कर्ष छ । यसरी दोहोरो यातायात भत्ता र इन्धन वापतको रकम असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयद्वारा सिफारिस गरिएको छ ।
उता प्रमुख प्रशासकीय अधिकृत भारत यादव पनी कावा मेयरसँग मिलेर अनेक भ्रष्टाचार गरिरहेका छन् । बारा सदरमुकाम कलैया बसेर दैनिक नगरपालिका आउन जान गाडी तेल दुरुपयोग गरिरहेको स्थानीयहरूले बताएका छन् ।
फतुवा विजयपुर नगरपालिकामा यस प्रकारका खर्च व्यवस्थापन प्रणालीमा सुधार नगरेसम्म अनावश्यक खर्च र सार्वजनिक धनको दुरुपयोग रोक्न सकिँदैन ।
२०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट फतुवा विजयपुर नगरपालिकामा मेयर पदमा गोपाल प्रसाद यादव, उपमेयरमा अम्बेया खातुनसहित ७ जना वडा अध्यक्ष निर्वाचित भएका थिए ।
२०८० सालमा विशेष अदालतबाट दोषी ठहर भएर तत्कालीन मेयर यादवको पद गुमेसँगै उपमेयर खातुन कार्यवाहक मेयरको जिम्मेवारी पाएपछि नगरपालिकामा चौतर्फी बेथिती देखिएको छ ।
कार्यवाहक मेयर खातुन बजेट भागबण्डामा अल्झिने गरेको कारण समयमा नगरसभा हुँदैन । उनको श्रीमानको कमिसन मोहको कारण गत आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तीन वटा विद्यालय भवन निर्माणका लागि आएको १ करोड ६५ लाख रुपैयाँ फ्रिज भएको थियो ।
गत असार १० गते हुनुपर्ने नगरसभा हालसम्म हुन सकेको छैन । चार दिन अघि आएको मन्त्रालयको टोलीले फतुवा विजयपुर नगरपालिकाका सबै जनप्रतिनिधिलाई बैठक राखेर छलफल गराउँदा आगामी ३० गते नगरसभा हुने सहमति भएको छ ।




