रौतहट । गौर-चन्द्रपुर सडकखण्ड अन्तर्गत इद्रिश गेट नजिक बस र स्कारपियो एक आपसमा ठोक्किँएको छ । दुर्घटनामा परेका दुवै गाडीमा ठूलो क्षति भएको देखिएपनि मानवीय क्षति हुनबाट जोगिएको छ ।
यमुनामाई गाउँपालिका ५ स्थित इद्रिश गेट नजिक बुधबार दिउँसो करिब १ बजे चन्द्रपुरबाट गौरतर्फ आउँदै गरेको ना ४ ख ५३१८ नम्बरको बस र गौरबाट उत्तरतर्फ गइरहेको प्रदेश २–०३–००१ व ६०४१ नम्बरको स्कारपियो एक आपसमा ठोक्किँएको थियो ।
चालकको सुझ बुझका कारण दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता इन्स्पेक्टर रुद्र कँडेलले जानकारी दिए । बस र स्कारपियोमा सवार सबै सकुशल रहेको प्रहरीले जनाएको छ। तर, दुवै सवारीमा क्षति पुगेको छ ।
ट्राफिक प्रहरी कार्यालय गौरका सई सुबोध सिंहका अनुसार बसको अगाडिको भाग सडकभन्दा तल खाल्टोमा आधा खसेको थियो भने स्कारपियो सडकमै रोकिएको थियो । घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




