सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका ६ मा शुक्रबार राति अज्ञात समूहले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार राति करिब ८:२० बजे महादेव यादवका ४० वर्षीय छोरा रामपुकार यादवलाई अपरिचित व्यक्तिहरूले गोली प्रहार गरेका थिए ।
गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्कालै उपचारका लागि महोत्तरीस्थित जानकी हेल्थ केयर लगिएको थियो । घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी हरिपुर्वा र इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा १५ जनाको टोली घटनास्थलमा खटिएको थियो । तर, उपचारको क्रममा जानकी हेल्थ केयर अस्पतालमा पुर्याएलगत्तै चिकित्सकहरूले यादवलाई मृत घोषित गरेका थिए । हाल उनको शव सोही अस्पतालमा राखिएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार, गोली प्रहार गर्ने क्रममा भाग्ने व्यक्तिमध्ये एक जना घाइते भएको हुन सक्ने अनुमान गरिएको छ । उक्त घाइतेको नाम–थर नखुलाइ हाल लालबन्दीस्थित मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म घटनाको कारण र आक्रमणकारीको पहिचान खुल्न सकेको छैन । गोली प्रहार गरी फरार रहेका व्यक्तिहरूको खोजीका लागि सर्लाही प्रहरीले ठूलो मात्रामा जिल्ला भरि प्रहरी परिचालन गरेको छ ।




