जनकपुर । संसदीय समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालयहरुले जनकपुरधाम र लहानमा बिहिबार र्यालीसहित शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
जनकपुरधाममा निजी विद्यालयहरुले बस र्यालीसहित विरोध प्रदर्शन गरेका छन् । संसदीय समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार निजी विद्यालयहरुले शान्तिपूर्ण बस र्याली निकालेका छन् ।
समितिबाट पारित गरिएको शिक्षा विधेयकमा निजी विद्यालयहरुसँग बेइमानी गरिएको भन्दै निजी विद्यालयका सञ्चालकहरु आ-आफ्ना विद्यालयको बससहित जनकपुरधामको रामानन्द चोकबाट र्याली निकालेर नगर परिक्रमा गरेका हुन् ।
प्याब्सन जनकपुरधामको नगर अध्यक्ष रविन्द्र चौधरीका अनुसार शिक्षा विधेयकमा निजी विद्यालयहरुलाई कम्पनी ऐन अन्तर्गत राखेर अन्याय गरेकाले केन्द्रिय सर्कुलर अनुसार आफूहरुले बस र्यालीसहित विरोध जनाइएको हो ।
अहिलेको शिक्षा विधेयकमा पूर्ण छात्रवृतिको व्यवस्था आफूहरुलाई मान्य नरहेको उनले बताए । निजी विद्यालयहरुलाई समाप्त पार्ने हिसाबले ल्याइएको शिक्षा विधेयकप्रति घोर आपत्ति जनाउँदै आफूहरु आन्दोलित हुन बाध्य भएको चौधरीको भनाई छ ।
र्यालीमा प्याबसन, एनप्याब्सन र हिसानमा आवद्ध विद्यालयहरुका संचालकहरुको सहभागीता रहेको थियो । उनीहरुले निजी विद्यालयहरुलाई शिक्षा विधेयकमा कम्पनी ऐन अन्तर्गत राख्ने व्यवस्थाका साथै पूर्ण छात्रवृतिको व्यवस्था नहटाइएसम्म आन्दोलन जारी रह्ने बताएका छन् ।
यस्तै सिरहामा सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकको केही नीतिगत प्रावधानले गुणस्तरीय शिक्षा र निजी विद्यालयको अस्तित्व नै संकटमा पार्ने भन्दै निजी विद्यालय सञ्चालक संघ प्याब्सनले शुक्रबार लहानमा शान्तिपूर्ण विरोध र्याली निकालेको छ ।
‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा निजी विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
संघले विद्यालय बन्द गर्ने नीति विद्यार्थीको भविष्यसँग खिलवाड भएको भन्दै तत्काल नीति पुनर्विचार गर्न सरकार समक्ष माग राखेको छ । सहभागीहरूले प्लेकार्ड बोकेर शान्तिपूर्ण जुलुस गरेका थिए ।
विद्यार्थीको उज्ज्वल भविष्यका लागि निजी विद्यालयको योगदानलाई सम्मान गर्न आग्रह गरेका थिए । संघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई राजनीतिबाट प्रभावित नगरी दीर्घकालीन नीतिगत स्थिरता कायम गर्न सरकारलाई अनुरोध गरेका छन् ।




