सिरहा । मधेस प्रदेशको सिरहा जिल्लास्थित सीमा नाका पछिल्लो समय तस्करहरूको उर्वर भूमि बनेको छ । यहाँका विभिन्न नाकाबाट मरिच, मदिरा, गाँजा, लागूऔषध, ग्यास लाइटर, चिनी, चाइनिज स्याउ लगायतका सामग्रीको तस्करी व्यापक भएको छ ।
भारतीय भूमिबाट चिनी, दाल, चामल, औषधि, मोटरपार्ट्सदेखि कस्मेटिक्ससम्मका दैनिक उपभोग्य सामग्री भन्सार राजश्व छली गरी भित्र्याइन्छ भने, नेपालतर्फबाट गाँजा, ग्यास लाइटर, स्याउ, मरिच जस्ता सामान उतातर्फ पुर्याइन्छ ।
करिब ४५ किलोमिटर खुला सीमा रहेको सिरहाका माडर, बरियारपट्टी र ठाढी नाकाबाट विशेष गरी मदिरा र गाँजाको तस्करी हुन्छ । पछिल्लो समय यी नाकाबाट स्याउ, मटर, मरिच र मदिराको तस्करी पनि बढेको छ । यस कारण यी नाकाहरू तस्करीका लागि सुरक्षित र सहज नाका मानिन्छन् ।
सिरहाको माडर, ठाढी, झाझपट्टी, गरग्मा, बरियारपट्टी र चतरी नाका पछिल्लो समय तस्करहरूको लागि ‘स्वर्ग’ बनेका छन् । माडर नाका अन्तर्गत बुधौरा, लगडिगोठ, लक्षमिनीया तथा ठाढी नाकाअन्तर्गत ठाढी, अभयनगर क्षेत्र तस्करीका कारण चर्चित छन् ।
सीमावर्ती स्थानीयका भनाइमा यी नाकाबाट “नुनदेखि सुनसम्म” सबै वस्तुको तस्करी हुन्छ । उनीहरूका अनुसार, सीमावर्ती प्रहरी इन्चार्ज खटाउने प्रक्रिया पनि तस्करीसँग प्रत्यक्ष जोडिएको हुन्छ । प्रहरी अधिकारीहरूलाई तस्करीबाट हुने मासिक आम्दानीमा “कबुल” नगरेसम्म सीमामा इन्चार्ज बनाइँदैन भन्ने आरोप स्थानीयले लगाएका छन् ।
बरियारपट्टी नाकामा भेटिएका (नाम परिवर्तन) सुजित कुमार यादव भन्छन्, “सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको नाकाबाटै निर्धक्क तस्करी हुन्छ । तस्करहरूले भन्सार छली गरेर मोटरसाइकलमा ठूला पोका सजिलै पारि–वारी लैजाने गरेका छन् ।”
भारतीय सहर जयनगर, लदनिया, लौकाहा लगायतका बजारबाट सामान ल्याएर मोटरसाइकलमार्फत नेपालतर्फ प्रवेश गरिन्छ । सिरहाका नाकाहरू हेर्दा ‘सीमा सुरक्षाभन्दा तस्करीलाई जिम्मा लगाइएका’ जस्तो देखिन्छ ।
स्थानीयहरूका अनुसार, चिनी, कपडा, मोटरपार्ट्स, पान मसला, तेल, दाल, चामल, कुखुरा, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुट्खा) जस्ता सामान भारतबाट भित्रिन्छ भने, नेपालतर्फबाट मदिरा, चाइनिज स्याउ, मरिच लगायतका सामान भारत पठाइन्छ ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारबीचको त्रिपक्षीय “लाइन मिलाउने सेटिङ” मार्फत तस्करहरूको राज चल्ने गरेको आरोप व्यापक छ । “लाइन क्लियर” को संकेत पाएपछि तस्करहरूले सामान अन्धाधुन्ध ढुवानी गर्ने र मोटरसाइकलमार्फत सहरसम्म सजिलै पुर्याउने गरेका छन् ।
सप्तरीमा तस्करी नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि त्यहाँका तस्करहरू सिरहातर्फ सरेको स्थानीयहरूले बताएका छन् । माडरको खिरौना जाने बाटोमा रहेको एउटा पक्की घर तस्करी सामान भण्डारण गर्ने मुख्य थलोको रूपमा परिचित छ ।
रातभर भारतबाट ल्याइएको सामान त्यहाँ राखिन्छ र दिनभर मोटरसाइकलमार्फत सिरहा, भलुवाही, लाहन, गोलबजार, मिर्चैया लगायतका बजारमा पठाइन्छ । माडर भन्सारमा प्लान्ट र एनिमल क्वारेन्टिन सुविधा नभएकाले आलु र प्याजको ठूलो परिमाणमा तस्करी हुन्छ ।
भारतीय नम्बरका मोटरसाइकलमा ३–४ बोरा आलु/प्याज लोड गरेर सिरहादेखि नयाँ चोहर्वासम्म ढुवानी गर्ने काम खुला रूपमा हुन्छ । बरियारपट्टी र ठाढी नाकामा पनि क्वारेन्टिन छैन ।
बरियारपट्टी चोकमा भेटिएका स्थानीय विनोद यादव भन्छन्, “जहाँ सुरक्षाकर्मी हुन्छन्, त्यहीँबाट तस्करीको सामान सजिलै जानुले मिलेमतो प्रष्ट हुन्छ । सुरक्षाकर्मीहरू प्रत्यक्ष देखिँदैनन्, तर आफ्ना घुमुवा (सादा पोशाकधारी) मार्फत तस्करसँग ‘लाइन मिलाउने’ गर्छन् ।”
घुमुवा सुरक्षाकर्मीहरू तस्करहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन्छन् । सामान समात्ने घटना देखावटी हुने गरेको र “लाइन मिलेपछि” सबै चुप लाग्ने गरेको स्थानीयले बताएका छन् ।
सिरहाका सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनुसन्धान निकायका सादा पोशाकधारी घुमुवाहरू सीमादेखि सहरसम्म तस्करी सजिलो बनाउन खटिने गरेको स्थानीयको बुझाइ छ ।
तर, सुरक्षा निकायका प्रमुखहरू भने तस्करीमा मिलेमतो भएको आरोप अस्वीकार गर्छन् । उनीहरू भन्छन्, “खुला सीमाको कारण लुकिछिपी सामान वारपार हुने गरेको हो । भेटिएको अवस्थामा बरामद गरेर भन्सारमा बुझाउने गरिएको छ ।”
तर स्थानीयहरूले भने भन्सार बाहेक सुरक्षाकर्मीका घुमुवाले प्रत्यक्ष पैसा असुल्ने गरेको दाबी गर्छन् । बरियारपट्टी नाकाबाट मलखाद्य ल्याउने साइकलबालाहरूका अनुसार, प्रति बोरा ५० रुपैयाँसम्म असुल्ने गरिएको छ । हारगुहार गर्दा कहिलेकाहीँ २५ रुपैयाँमै छाडिने गरेको उनीहरूको अनुभव छ ।
जिल्ला भन्सार कार्यालय माडरका तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा लक्ष्यअनुसार राजश्व संकलन हुन सकेको छैन । लक्ष्य १ करोड ४३ लाख ६० हजार भए पनि जम्मा ९० लाख ७६ हजार मात्रै संकलन भएको छ । यसमा बरियारपट्टी भन्सारको असुली राजश्व पनि समावेश गरिएको छ ।




