रौतहट । १९ वर्षअघिको गौर हत्याकाण्ड बारे सर्वोच्च अदालतले छानबीन र अनुसन्धान अघि बढाउन परमादेश जारी गरेपछि रौतहट लगायत मधेस प्रदेशका जिल्लाहरू र काठमाडौंमा विरोध प्रदर्शन जारी छ ।
आइतबार गौरमा सर्वोच्चको परमादेशको विरोधमा प्रदर्शन भएको छ । रामजानकी धर्मशालाबाट सुरु भएको जुलूस नाराबाजीसहित शहरका विभिन्न भाग परिक्रमा गर्दै विपी चोकमा पुगेर सम्पन्न भएको थियो ।
प्रदर्शनमा सहभागीहरूले सर्वोच्च अदालतको आदेशप्रति आपत्ति जनाउँदै चर्का नारा लगाएका थिए । विरोध कार्यक्रममा पूर्व जसपा नेता तथा संविधानसभा सदस्य बबन सिंह, समाजसेवी भूषण सिंह, पूर्व मन्त्री योगेन्द्र यादव, प्रदेशसभा सदस्य बाबूलाल साह, रामकिशोर यादव, शोभा साह, अनिल सिंह, किरण ठाकुर, रामेश्वरराय यादव, राजकुमार दास, श्यामविहारी यादव लगायतका नेताहरू सहभागी थिए ।
नेताहरूले परमादेशबाट समाजमा विभाजन बढ्ने खतरा रहेको भन्दै आदेश तत्काल खारेज गर्न माग गरे । उनीहरूले घटनाको अनुसन्धानका लागि तत्कालीन समयमा गठित चार वटा आयोगको प्रतिवेदन पहिल्यै आइसकेको छ र सर्वोच्चको आदेशमार्फत १३० जनालाई अनुसन्धानको दायरामा ल्याउने काम कानुनसम्मत नभएको दाबी गरे ।
उनले गौर हत्याकाण्डलाई राजनीतिक लाभका लागि प्रयोग गरिएको आरोप लगाउँदै भने, “न्याय सबैका लागि समान हुनुपर्छ । यो घटना कुनै राजनीतिक अस्त्रको रूपमा प्रयोग हुनुहुँदैन ।” नेताहरूले निष्पक्ष छानबीन नगरी राजनीतिक प्रतिशोध र द्वन्द्वलाई मात्र उजागर गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।




