पर्सा । वीरगंज महानगरमा सुरु भएको झाडापखालाको संक्रमण अब गाउँतिर पनि फैलिन थालेको छ । पोखरिया अस्पतालमा उपचाररत बिरामीको परीक्षण गर्दा दुई जनामा हैजा पोजेटिभ पुष्टि भएपछि ग्रामीण क्षेत्रमा त्रास बढेको हो ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झाका अनुसार पोखरिया अस्पतालमा पाँच जना बिरामी भर्ना थिए, जसमध्ये दुई जनामा कोलोरा पोजेटिभ देखिएको हो । “आवश्यक परीक्षण किट र अन्य सामाग्रीहरू तत्काल पठाइसकिएको छ,” उनले जानकारी दिए ।
संक्रमित सबै जना विद्यार्थी रहेको र उनीहरू वीरगंजमा बस्दै आएका थिए । घर फर्किएको बेला उनीहरू बिरामी परेको बताइएको छ । बिरामीमध्ये धोबिनी गाउँपालिकाका एक, विन्ध्यवासिनी गाउँपालिकाका एक र पोखरियाका तीन जना रहेका छन् ।
यसअघि वीरगंजमा सङ्कलन गरिएका नमूनाहरूको परीक्षण गर्दा पनि हैजा पुष्टि भइसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख डा. रञ्जन भट्टका अनुसार १० वटा नमूनामध्ये ८ वटामा हैजा देखिएको छ । “कल्चर परीक्षणमा ८० प्रतिशतभन्दा बढी पोजेटिभ आउनुले समुदायमै हैजा फैलिएको प्रमाणित हुन्छ,” उनले भने ।
वीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म १७१ जना झाडापखालाका बिरामी उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
सङ्घ, प्रदेश र स्थानीय सरकार संयुक्त रूपमा नियन्त्रण अभियानमा जुटिरहेका बेला गाउँमा समेत संक्रमण देखिनु थप चुनौती बनेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।




