वीरगञ्ज । वीरगञ्जमा हैजा संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा स्वास्थ्य चुनौती गम्भीर बन्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार सरकारी तथा निजी गरी १७ वटा स्वास्थ्य संस्थामा १९३ जनाको उपचार भइरहेको छ । तीमध्ये ३३ जना आईसीयूमा र ४ जना एचडीयूमा छन् ।
वीरगञ्ज महानगरपालिका भित्रै हैजा फैलिसकेपछि पर्साको पोखरी उपमहानगरपालिका र बारामा पनि हैजाको संक्रमण पुष्टि भएको छ । चिकित्सकका अनुसार अन्य जिल्लामा समेत झाडापखालाका बिरामी बढ्दै जाँदा हैजाको प्रकोप अझ गम्भीर हुने सम्भावना देखिएको छ ।
पानीको स्रोतमा कहाँबाट हैजाको जीवाणु पुगेको हो भन्ने विषय हालसम्म पत्ता लाग्न सकेको छैन । स्रोत नखुलेसम्म रोग नियन्त्रण गर्न कठिनाइ हुने विशेषज्ञको भनाइ छ ।
हैजाबाट जोगिन नागरिकले अपनाउनु पर्ने सावधानीका उपाय
हैजाको बढ्दो संक्रमणका बेला प्रत्येक नागरिकले सतर्कता र सावधानी अपनाउन अत्यावश्यक छ । संक्रमण फैलिएका क्षेत्रमा बस्नेहरूले विशेष गरी यी ८ उपाय पालना गर्नुपर्छ;
सफा र उमालिएको पानी मात्र प्रयोग गर्ने :– हैजा जलजन्य रोग भएकाले अशुद्ध पानी सेवन गर्दा संक्रमणको जोखिम अत्यधिक हुन्छ । पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनुपर्छ ।
सफा र पकाएको खानेकुरा मात्र खाने :– काँचो वा सडकछेउको खुला खाना नखानुहोस् । पकाएको खाना तातो अवस्थामा राख्नुहोस् र सकेसम्म तातोमै प्रयोग गर्नुहोस् ।
हातको सफाइमा ध्यान दिने :– खाना खानुअघि, पकाउँदा तथा दिसा पिसापपछि अनिवार्य साबुनपानीले हात धुने बानी बसालौँ ।
सार्वजनिक स्थानको सरसफाइ गर्ने :– फोहोरमैला यथास्थानमा फाल्ने र घर वरिपरि सफा राख्ने ।
दस्त वा बान्ता भएका बिरामीसँग सावधानी अपनाउने :– बिरामीको स्याहार गर्दा पञ्जा प्रयोग गर्ने र प्रयोग भएका सामग्रीहरू नष्ट गर्ने वा राम्रोसँग सफा गर्ने ।
स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने :– लगातार पातलो दिसा, बान्ता, शरीर कमजोर हुनु, पानीको कमी जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुग्ने ।
जीवनजलको प्रयोग गर्ने :– शरीरमा पानी र नुनको सन्तुलन कायम राख्न जीवनजल सेवन गर्ने ।
सार्वजनिक स्वास्थ्य सूचनामा ध्यान दिने :– सरकार वा स्वास्थ्य संस्थाले जारी गरेका निर्देशनहरू पालना गर्ने ।




