पर्सा । नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रको लापरबाहीका कारण पर्साको ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चाका स्थानीयवासी निरन्तर सास्ती भोगिरहेका छन् । स्थानियहरूका अनुसार सो क्षेत्रमा रहेको ५० केभीए क्षमताको ट्रान्सफर्मर दुई महिनादेखि बिग्रिएको छ ।
सुरुमा एक फेज जलेर विद्युत् आपूर्ति अनियमित भएपनि वितरण केन्द्रले बेवास्ता गर्दा समस्या झन् गम्भीर बनेको हो । बिहिबार साँझदेखि ट्रान्सफर्मर पूर्णरूपमा ठप्प भएपछि गाउँ अन्धकारमा डुबेको छ ।
वडाध्यक्ष अष्टबहादुर लोप्चनका अनुसार विगत दुई महिनायता राति लाइन जाने, कृषि मोटर नचल्ने र किसानहरू सिंचाइ गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनले वितरण केन्द्रका प्रमुखलाई भेट्न पोखरिया समेत गएको तर प्रत्यक्ष भेटमा ‘हुन्छ’ भन्ने आश्वासन पाएपनि काम नगरेको आरोप लगाए ।
ट्रान्सफर्मर बिग्रिएकै कारण १५० घरधुरी अन्धकारमा बस्नुका साथै करिब ४० भन्दा बढी कृषि मोटर र दुई वटा डीप बोरिङ सञ्चालन हुन नसक्दा किसानहरू गम्भीर संकटमा परेका छन् । खेतमा समयमै पानी हाल्न नसक्दा धानमा धाँजा फाटेको र उत्पादनमा ठूलो गिरावट आउने अवस्था सिर्जना भएको किसानहरूको गुनासो छ ।




